तीज गीत मौलिकता हराएका

आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छैनन् ।

हरितालिका तीजमा महिलाले दुःख पीडा र गुनासालाई व्यक्त गर्ने पर्वका रुपमा मानिन्छ । विभिन्न टोलका महिला जम्मा भएर र छोरीचेलीलाई निम्तो दिएर चौतारी, चौर तथा घरका आँगनमा नाच्दै वेदना पोख्ने पर्व पछिल्लो समय भने फेरिँदै आएको छ । तीजका पुराना भाकाको ठाउँ आधुनिक गीतले लिएको छ ।छोरी भएकै कारण गरिने विभेद, गाउँमा हुने घटना, सासूबुहारीका गुनासा, श्रीमान्श्रीमतीका व्यवहार, भगवान्का नामका गीत, माइतीले नबोलाएका कुरा र भाउजूबुहारीले हेला गरेका कुरा समेटी गाउँमा भेला भएर गाउने तीज गीतका भाका आजभोलि बजारमा रेकर्ड भएका विभिन्न खाले गीतले नै विस्थापन गरिदिएको छ ।

“भगवान्लाई भेट्दा के के पाहुर चाहिन्छ, यति मलाई बताइदेउ, एकुमा चाहिन्छ श्रीखण्ड चन्दन बरिलै दोसरी बेलपत्र नि बरिलै दोसरी बेलपत्र” जस्ता गीत कालीगङ्गामा स्नानका क्रममा भेला भएर नदीकै किनारमा गाएर नाच्ने चलन थियो ।

आजभोलि गीत घन्काउने, नाच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढ्दै गएको छ । ठूलो आवाजमा गीत घन्काउने र नाच्ने चलन बढ्यो तर मौलिक तीजका भाव बोल्ने गीत नै सुन्न छाडिएको महिला बताउँछन् । तीज आउनुभन्दा पहिल्यै धान गोड्ने, कोदो रोपेर सक्ने अनि दुईतीन दिनलाई गाईभैंसीलाई घाँस काटेर माइत जाने चलन थियो ।

हिन्दू महिला दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । विवाहित महिलाहरु आफ्ना पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अनि अविवाहित युवतीहरु योग्य पतिको कामना गर्दै त्यसैले तीजलाई महिलाहरुले प्रेमको पर्वका रुपमा समेत मनाउने गर्छन् । परम्परागत रुपमा मनाइँदै आइएको ‘हरितालिका तीज’ को शुरुवात प्रेमकै कारण भएको पाइन्छ ।

यस पर्वले शिव र पार्वतीको मायालाई प्रतिबिम्बित गर्छ । तीजको व्रत बसेकै कारण पार्वतीले शिवजीलाई आफ्ना पतिका रुपमा पाएकी हुन् भन्ने हिन्दूधर्मावलम्बीहरुको पुर्ण विश्वास छ ।

छाडा शब्द प्रयोग गरिएका गीतलाई केही संस्थाहरूले प्रतिबन्ध लगाउन लबिइङ गर्न थालेका छन्। त्यस्ता गीत सामाजिक सञ्जाल र युट्युबबाट भने हटाइएको छैन। केही म्युजिक उत्पादकहरूले भने सच्याएर फेरि अपलोड गरेका छन्। साथै केही संगीतकर्मीले माफी मागेका समाचार पनि बाहिर आएका छन्। स्रष्टा र कलाकारमाथि आरोप लाग्न थालेको छ, मौलिकता हरायो, गीतका नाममा छाडापन र दोहोरो अर्थ लाग्ने शब्दहरू भित्रिए। भ्युज बटुल्ने नाममा छाडा शब्दको प्रयोग गरेर तीजको मौलिकतामाथि धज्जी उडाउनेमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ।

गीतमा ‘के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो,तिन महिने सुइ, बालेन शाह जस्तो पोइ पाए पोइल गैदिन्थे, जस्ता गित बजारमा सार्बजनिक भयका छन्। । ‘बजारमा आएका सबै तीज गीतमा होइन, केही तीजका गीतमा मौलिकताको कमी हुँदै गएको पाइन्छ । पहिले पहिलेका तीज गीतमा झै अहिलेका तीजका गीतमा मेहनत कमी हुँदा विकृति विसङ्गति बढेको हो ।

आधुनिकताको नाममा गीत–सङ्गीतको संस्कृति विस्तारै विकृत बन्दै गएको भन्दै यसका पारखीहरुले विकृति रोक्नुपर्ने सुझाव दिएका छन्। पछिल्लो समय बजारमा आएका केही गीत नेपाली लोकसंस्कृति झल्काउने खालका छैनन्। भाइरल हुने नाममा केहीले गीतको शीर्षकसमेत दुइअर्थी राख्ने गरेका छन्।

केही गीत सुन्दा अलिकती पनि तीजको स्वाद नआउने खालका छन्। यस्ता गीतहरुले तीजको नाममा समाजमा विकृति ल्याइरहेको हुन्छ। पछिल्लो समय बजारमा आएका केही तीजका गीतहरु यस्ता खालका छन्। ‘के के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो,तिन महिने सुइ, बालेन शाह जस्तो पोइ पाए पोइल गैदिन्थे’। यी गीतहरु कुनै पनि हिसाबले तीज गीत जस्तो लाग्दैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *