
चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा गएराति निधन भएको हो।
उनी टाटा ग्रुपको होल्डिङ कम्पनी टाटा सन्सका पूर्वप्रमुख थिए। रतन टाटाले टाटा समूहको नेतृत्व लिएपछि विश्व व्यवसाय विस्तारमा भूमिका खेलेका थिए।पछिल्लो समय उनी बुढ्यौली जीवन बिताइरहेका थिए। स्वर्गीय रतन टाटा भारतकै प्रभावशाली व्यवसायी थिए। १४८ वर्षको इतिहास बोकेको टाटा ग्रुपको अभिवृद्धिमा उनले उल्लेखनीय योगदान गरेका छन्।
यो ग्रुपले १ खर्ब अमेरिकी डलर बढीको आम्दानी गर्दै आएको छ। टाटा ग्रुपका मुख्य केही कम्पनीहरुमा टाटा स्टिल, टाटा मोटर्स, टाटा कन्सल्टेन्सी सर्भिस र टाटा कम्युनिकेसन्स रहेका छन्।
प्रेम अधूरै रह्यो,
सन् १९६२ तिर रतन टाटाले कलेज सकेर अमेरिकी सहर लस एन्जलसमा जागिर गरिरहेका थिए। त्यही बेला उनी एक युवतीसँग प्रेममा परे। विवाह हुने पक्का भएपछि तयारी सुरु भयो। कार्ड समेत छापियो।
तर भारतमा रहेकी हजुरआमाको खराब स्वास्थ्यका कारण रतन भारत जानुपर्ने भयो। उनी विवाह हुन लागेकी प्रेमिकालाई सँगै भारत ल्याउन चाहन्थे। केटीको परिवारले उचित ठानेन।

त्यसपछि प्रेमसम्बन्ध अधूरै रहन पुग्यो।
खर्बौँ सम्पत्तिका मालिक टाटाले विवाह नै गरेनन्। अर्थात् आजीवन अविवाहित रहे। उनलाई विवाहको लागि दबाब त आएकै थिए। उनी त्यसलाई ठाडै अस्वीकार गरेर बसे।
टाटाले विवाह नगर्नुलाई कतिपयले आमा–बुवाको सम्बन्धसँग जोडेर हेर्ने गरेका छन्। उनका आमा–बुवाको वैवाहिक सम्बन्ध टुटेको थियो। त्यति बेला उनी १० वर्षको मात्र थिए।
त्यसपछि उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनको हजुरआमा नवजैबाईले नै लिइन्। नवजैबाईले नै रतनलाई हुर्काएकी थिइन्। त्यसैले हजुरआमाको लागि आफ्नी प्रेमिकालाई नै छाडिदिए।

