भाग्य – कविता


बिहान अँध्यारोमै उठेर कलेज जाँदा
मन शान्त हुन्छ
अनी
बेलुका अफिसबाट घर फर्किँदा नि
रातको हावाले मन पुलकित हुन्छ

तर
तर जब म दिउँसोको दौडधुपमा
हिँड्छु जावालाखेलका फुटपाथहरु
डुल्छु कृष्णमन्दिरका पेटिहरु
तब
तब मन बिचलित हुन्छ
तब मन तरङ्गित हुन्छ
तब मन चिन्तित हुन्छ
साँच्चै मन आतंकित हुन्छ

म हतारमा हिँडिरहेको हुन्छु
कोटेश्वरका गल्लिहरुमा
एउटा सानो बालक आउँछ
मेरो बाटो छेक्छ
अनी माग्छ सपनाहरु
अनी देखाउन खोज्छ-आफ्नो भाग्य

म नदेखे झैँ गरेर उम्किन खोज्छु
होईन होईन, भाग्न खोज्छु
तर उ लखेटी रहन्छ
म लाजले रातो भएर गोजी छाम्छु
सबैभन्दा सानो नोट खोज्छु
अनि दिन्छु दस रुपैँया!

रोडको छेउमा छिन उस्की आमा
भाग्य र भागवानसँगको लडाइँ लड्दै
कहाँ सुरु कहाँ खतम
जिन्दगीको भर नै के छ र

कोइ जन्मदै महलमा जन्मन्छन्,
कोही झुपडिमा हुर्किन्छन्
कोही गाउंमा,कोही शहरमा
तर उ सडकमै जन्मियो, सडकमै हुर्कियो
अनी
सडकमै खोज्दैछ आफ्नो अस्तित्व
सडकमै खोजिरहेछ आफ्नो हराएको भाग्य

उ आफ्नो भाग्य खोज्न अर्को व्यक्तिसँग जान्छ
म आफ्नो भाग्य बनाउन लम्किन्छु-अफिसतिर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *