
सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ ।
जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको अर्थ पनि भिन्दाभिन्दै हुने गरेको हामीले सुनेका छौं, अनुभव गरेका छौं । कसैका लागि नाम कमाउनु सफलता हो भने कसैका लागि पैसा कमाउनु त कसैका लागि प्रतिष्ठा कमाउनु ।
सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् ।
तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् ।
एउटा विद्यार्थीका लागि परीक्षामा प्रथम हुनु सफलता हो भने खेलाडीका खेल जित्नु । नेताका लागि चुनाव जित्नु सफलता होला, प्रेमी-प्रेमिकाका लागि मन जित्नु या विश्वास जित्नु… आदि । साधारणतया कसैले गरेको प्रयास सार्थक हुनु या सपना साकार हुनुलाई नै सफलता प्राप्त भएको मान्ने गरिन्छ ।
हिजोआजका हाम्रा विद्यार्थी भाइबहिनीसम्म एउटा प्रेरक सन्देश शेयर हुन सकोस् भन्ने उद्देश्यले यो लेखमा सफलता र यससँग जोडिएका केही प्रेरक प्रसंगबारे चर्चा गर्ने कोशिश गरेको छु ।यदि अहिले दशौं वा बाह्रौं कक्षामा अध्ययन गर्दै गरेका हाम्रा भाइबहिनीहरूलाई सफलता के हो भनेर सोध्ने हो भने के कस्ता जवाफ आउलान् ? थोरबहुत अनुमान हामी सबैले लगाउन सक्छौं ।
कल्पना गर्नुस्, कुनै दुर्गम गाउँकी एक बहिनी दु:ख गरेर स्कूलको पढाइ सक्छिन् । घर परिवारको राम्रो सपोर्ट नहुँदा नहुँदै पनि शहर जान्छिन् । दु:ख गरेर पढ्छिन् । मास कम्युनिकेसन एन्ड जर्नालिजममा स्नातक तहसम्मको पढाइ पूरा गर्छिन् । अनि लगत्तै कुनै प्रतिष्ठित टिभी च्यानलमा न्यूज रिडर (एंकर)को रूपमा काम गर्ने अवसर प्राप्त गर्छिन् ।
अब हामीले यी बहिनी र अहिलेका चल्तिका अभिनेता प्रदीप खडकाको सफलतालाई तुलना गरेर हेर्ने हो भने कसलाई बढी सफल भएको मानौंला ? पक्कै पनि हामी धेरैले एंकर बनेकी बहिनीलाई नै ज्यादा सफल मान्ने छौं, किनकी प्रदीप खडकालाई प्राप्त भएको सफलता जति स्वाभविक छ, ती बहिनीको सवालमा त्यति नै कठिन ।
उनले त्यतिसम्मको काम गरेर देखाइन्, जसको बारेमा उनको परिवार र आसपासका मानिस वा त्यहाँको समाजले कल्पना पनि गरेको हुँदैन । अर्थात शुरूमा उनको बारेमा जे अनुमान गरिएको थियो उनले त्योभन्दा धेरै गरेर देखाइन् । अझ भन्नुपर्दा आफ्नो औकातभन्दा माथि उठेर देखाइन् ।
जीवनमा आफ्नो औकातभन्दा माथि उठ्ने संकल्प गर्नुहुन्छ, अर्थात अरुले सोचेको भन्दा पनि राम्रो गरेर देखाउने लक्ष्य राख्नुहुन्छ (यस्तो लक्ष्य पढाइमा मात्र हुनुपर्छ भन्ने छैन, तपाईंको रुचि अनुसारको जुनसुकै क्षेत्रमा पनि हुनसक्छ) भने आजैबाट आफ्नो संकल्प र लक्ष्यअनुरूप कडा मेहेनत गर्न शुरू गर्नुस् । यहाँहरू पनि आ-आफ्नो क्षेत्रमा आफ्नो औकातभन्दा माथि उठेर देखाउन सफल बन्नु हुनेछ ।

