फेसबुक रोग!

८/९ वर्ष नै हुन लागेछ फेसबुक चलाउन थालेको पनि। सुरुमा साथी कसरी बनाउँछन् भन्ने ज्ञान पनि थिएन मलाई। च्याटको त झन् के कुरा गर्ने। अरूले के पोस्ट गरेको छ त्यही हेर्थेँ अनि अफ हुन्थेँ। लगभग फेसबुक खोलेको ५/६ महिना जति यसरी नै चलाएँ। खासै वास्ता पनि लाग्दैन थियो।

त्यसपछि बिस्तारै साथी बनाउने, कुरा गर्ने सबै सिक्न थाले।

जतिले फेसबुकमा रिक्वेस्ट पठाउँथे, सबैको एसेप्ट गरिहालेँ। न कोही चिनेको छ, न देखेको छ। अब च्याट सुरु हुन थाल्यो। बिस्तारै फेसबुकप्रति आकर्षित हुँदै गइयो। टाइप पनि नआउने मलाई। फेसबुकमा रोमनमा बोल्दा रहेछन्। आफूलाई केही थाहा छैन। उताबाट ‘हाई’ आउँथ्यो, म पनि हाई लेख्थेँ। त्यसपछि भने उताबाट ‘के छ?’ रोमनबाट म्यासेज आयो। अङ्ग्रेजीबाट बोलेको होला भनेर गुगलमा खोजेँ तर भेट्दै भेटिएन। सोध्दै म्यासेजको रिप्लाई दिने सक्ने भइयो जसोतसो।

गाउँमा नेटवर्कले काम गर्दैन थियो। त्यसो भएता पनि घरको माथिल्लो तल्ला हुन्छ कि, रुख चढेर हुन्छ फेसबुक चलाउनु पर्ने। त्यो क्रम लगभग एक वर्ष जति चल्यो। पछि सहर झरेपछि त वाइफाई नै चलाउन पाइने भयो।

फेसबुक चलाएर कुनै सर्टिफिकेट मिल्थ्यो भने मैले डिग्रीको सर्टिफिकेट हासिल गरिसकेको हुने थिएँ। तर के गर्नु, समय बरबाद बाहेक केही भएको छैन। सुरुमा वास्ता नलाग्ने, अहिले भने एक छिन नचलाउँदा अन्धकारमै छु जस्तो लाग्छ।

उठ्यो फेसबुक, बस्यो फेसबुक, हिँड्यो फेसबुक, सुत्यो फेसबुक। फेसबुकबाट हामीले हाम्रो दिमागमा यस्तो नकारात्मक कुरा सेभ गरिसकेका छौँ, यो एउटा देखाउने माध्यम हो जस्तै। कसैले क्यामेराबाट फोटो खिचेर राख्यो, मलाई नि त्यो गर्न मन लाग्छ। कसैले कपडा नयाँ किनेर लगाएको हुन्छ, त्यो पनि मलाई चाहिने। नयाँ ठाउँको फोटो अपलोड गर्‍यो, त्यहाँ आफू पनि जानै पर्ने। देखा सिकी बाहेक अरू के रहेछ र फेसबुक? फेसबुक चलाउन थालेदेखि न खानाको समय छ, न काम गर्नेको सबै बेतालको भएको छ।

फेसबुकले यदि बढी चलाउनेलाई पैसा दिन्थ्यो भने म मालिक भइसकेको हुने थिएँ। सर्टिफिकेट दिन्थ्यो भने डिग्री पास गरिसक्थेँ। अनगिन्ती प्रयासपश्चात् केही दिन भयो, अलि टाढा बस्ने कोसिस गरेको छु। तपाईं पनि म जस्तै लत बसाल्नु भएको छ भने कम गर्नुहोस्। समयको महत्त्व बुझौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *