संघर्षको मैदान

मलाई कहाँ आउँछ र अरूको मन जित्न,
यहाँ त म आफैं, हार्छु आफ्नै मनसँग।
आशा बोकेर हिँड्छु, सपना सजाएर,
तर सधैं हारेको भेट्छु म, यो जीवनसँग।

अँध्यारोमा हराउँछु, उज्यालो खोज्दै,
तर पाइलैपिच्छे ठोकिन्छु, आफनै छायासँग।
म कहाँ जित्न सक्छु, यो संसारलाई,
जब हार्ने मान्छे हु , म आफ्नै मनसँग।

म कहाँ जित्न सक्छु, यो आफ्नै छायालाई,
जसले हर घडी मलाई आफ्नै डर देखाउँछ।
आफ्नै मनको बन्धनले बाँधिएको छु म,
जहाँ हर सपना अधुरो, हर आशा थाकेको देखिन्छ।

म लामो यात्रामा हिँड्छु, तर कतै पनि पुगेको छैन,
अरूलाई नजितेर, आफैंलाई जित्न गाह्रो छ ।
यो यात्रा कठिन छ , मनको अनिश्चित घुम्तीहरुमा,
जहाँ हर चोट गहिरो बन्छ, कहिल्यै मेटिन सक्दैन ।

तर म लड्दैछु, यही संघर्षमा,
आफ्नै अस्तित्वसँग बारम्बार भिड्दैछु।
सपना झरे पनि, फेरि उठ्न सिक्छु,
आफ्नै मनलाई थाम्दै, फेरि नयाँ बाटो खोज्दैछु।

यो हारेको मान्छे, अझै लड्न चाहन्छ,
नयाँ बिहानको आशा गर्दै, फेरि दौडन चाहन्छ।
जबसम्म सास छ, म यो संघर्षमा छु,
आफ्नै मन जित्ने आशामा, निरन्तर अघि बढ्दै छु।

समयले के दिन्छ, म जान्दिन तर,
आफ्नै आत्मालाई फेरि विश्वास दिलाउँदै छु।
हारे पनि म उठ्नेछु, निराशा भुलेर,
आफ्नै मन जित्ने साहस बटुल्दै छु।

@Ghumante_यात्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *