१२ पछि के पढ्ने ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कुन विषय कहाँ पढ्ने र कस्तो विद्यालय छनोट गर्ने भन्ने चिन्ताले सताउन थालेको  छ। १२ सम्म विद्यालय शिक्षा अध्ययनपछि विश्वविद्यालयको ढोका खुला हुन्छ। विद्यार्थी आफ्नो भविष्य कता लाने भविष्यमा कस्तो कामका लागि आफू दक्ष बन्ने र अभिभावकको चाहनाअनुरुप कसरी अघि बढ्ने भन्ने विषयमा चिन्तित हुन्छन्। 

विश्वविद्यालय शिक्षाको ढोका खुलेसंगै आफ्नो भविष्यको गन्तव्य पनि सुनिश्चित हुने गर्दछ। आफूले रोजेको विषय र त्यसमा हासिल गर्ने दक्षताले नै एक सफल नागरिक बन्ने अवसर प्राप्त हुन्छ। विद्यालय तह पार गरिसकेपछि स्नातक तहका रुपमा विश्वविद्यालयमा प्रवेश गर्ने यो पहिलो विन्दु हो।

शिक्षाको उत्पादन र श्रमसँग मेल खाएको अवस्थामा समाज अग्रसरताको बाटोमा अगाडि बढ्न सक्छ। आमअभिभावक र विद्यार्थीको चाहना पनि सुरक्षित करिअर नै हो।

विद्यार्थीलाई प्रवेश परीक्षाको चिन्ता

कक्षा १२को परीक्षा दिएर बसेका विद्यार्थीलाई परीक्षाको नतिजा र विश्वविद्यालयको प्रवेश परीक्षाका लागि गर्नुपर्ने तयारीको विषयले सताउने गरेको छ। कक्षा १२ को परीक्षापछि विद्यार्थीलाई स्वदेशी विश्वविद्यालयमा पढ्ने वा विदेशी विश्वविद्यालयमा पढ्ने, विदेशी भाषा शिक्षाको कक्षामा सहभागी हुने वा नेपाली विश्वविद्यालयका विभिन्न विषयका तयारी कक्षामा सहभागी हुने भन्ने अलमलमा परेको छ। 

विश्वविद्यालय शिक्षामा विविधता

स्नातक तह अध्ययन गर्नका लागि स्वदेश तथा विदेशमा विभिन्न अवसर छन्। जसमा विद्यार्थीले स्वदेशमै रहेका विभिन्न ११ वटा विश्वविद्यालयमा अध्ययन गर्न सक्छन्। होइन म विदेशी विश्वविद्यालयको कोर्स पढ्छु भनेर रहर गर्नेका लागि समेत झण्डै ४५ भन्दा बढी कलेजले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई एक सयभन्दा बढी कोर्स अध्यापन गराइरहेका छन्। 

विदेशमा उच्च शिक्षा हासिल गर्छु र उज्ज्वल भविष्य निर्माण गर्छु भन्नेका लागि पनि विभिन्न मुलुकका विश्वविद्यालयमा अध्ययन गर्न जाने बाटो खुला छ।

मानविकी र आईटीमा अवसर

अहिले हरेक क्षेत्रमा आवश्यक र निकै स्कोप भएको विषय हो आईटी। अहिले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्यजस्तै भइसक्यो। प्रविधिको साथ बिना काम गर्न नसकिने अवस्था सिर्जना भएको छ। जसले एकातिर काममा सहजता ल्याएको छ भने अर्कोतिर त्यसका लागि आवश्यक जनशक्तिको संख्या बढाएको छ। 

सूचना प्रविधि अहिले हरेक मानिसको हातदेखि नै सुरु भइसकेको छ। बिहान दिन सुरु भएदेखि दिन ढलिसक्दा हामी कति धेरै यसमा आश्रित छौं भन्ने हामीलाई हेक्का भएको हुँदैन। सूचना प्रविधिका कोर्स अध्ययन गर्ने हरेक क्षेत्रमा काम गर्न सक्छन् भने वेबपेज डिजाइनिङ, एनिमेसन, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ, नेटवर्किङ लगायतका क्षेत्रमा करिअर बनाउन सक्छन्।

मानविकी संकाय पनि उत्तिकै महत्त्वपूर्ण छ। राजनीति गरी देश बनाउँछु भन्नेका लागि, समाजशास्त्र पढेर समाज बुझ्छु र बुझाउँछु भन्नेका लागि मानवशास्त्र पढ्छु, इतिहास पढ्छु, पत्रकारिता वा साहित्य पढेर हरेक पाठक र स्रोत माझ बस्छु भन्नेका लागि मानविकीले सहयोग गर्छ। 

फरक विश्वविद्यालयका फरक विषय 

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, मध्यपश्चिम, गण्डकी र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आआफ्नै पाठ्यक्रमका आधारमा स्नातक तहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। 

त्रिविले स्नातक तहमा बीबीए, बीए, बीएड, बीएससी, नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई, (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन), बीटेक, बीएससी) बीएससी एजी, बीएससी फरेस्ट, बीएसडब्लूलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

यसैगरी १२० भन्दा बढी क्याम्पसलाई सम्बन्धन दिएको काठमाडौं विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिजम), बीएफडी (फेसन डिजाइन), बीएमटी (मिडिया टेक्नोलोजी), बीजेएमसी (जर्नालिज्म एन्ड मास कम्युनिकेसन), बीई (सिभिल, कम्प्युटर आर्किटेक्ट, बायोमेडिकल), बीएससी बायोटेक्नोलोजी, बीपीएच, बीएससी नर्सिङ, बीफार्मेसीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

यस्तै बीएससी इन एप्लाइड फिजिक्स, बीएससी फार्मेसी, बीएससी इन इन्भायरोन्मेन्टल साइन्स, बीएससी इन ह्युमन बाइलोजी, बीई, बीए बुद्धिस्ट स्टडिज, बीए फाइन आट्र्स, एमबीबीएस, बीएससी नर्सिङ, बीडीएसलगायतको पनि अध्ययन अध्यापन गराउँदै आएको छ।  

पोखरा विश्वविद्यालयमा ब्याचलर अफ डेभलपमेन्ट स्टडिज, बीई (सिभिल, सिभिल एण्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्टलगायतका विषय पठनपाठन हुँदै आएको छ।

कृषि तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेस्ट्री तथा बीएससी भेटेरिनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीई, बीबीए, बीबीएस, बीए, बीएससी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएससी कम्प्युटर साइन्स विषयमा पठनपाठनको थालनी गरेका छन्।

मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्नातक तहमा विभिन्न शैक्षिक कार्यक्रम सुरु गरिसकेका छन्। गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापन सम्बन्धी नयाँ सञ्चालनमा ल्याएको छ।

छिमेकीको बच्चाले यो पढ्यो, तिमीले पनि यही पढ्नुपर्छ भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हरेक अभिभावकले आफ्नो सन्तानले पनि फलानाको छोराले पढेकै विषय पढ्नुपर्छ भन्ने मान्यता नत्यागेसम्म बाबुनानीको शैक्षिक सफलता सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *