
अब केही त सोच सरकार !
देश ऋणमा छ ।
उत्पादन गर युवा ।
पठा खाडी र सात समुन्द्र पारी
छोडिदे यी बाझा खेत वारि
हाम्रो खेतमा त झार उम्रीन्छ बन्सो ढल्छ
विदेशमा त झार अनि रुखरुखमा पैसा फल्छ
मात्र टिप्न सक्नुपर्यो मज्जाले जिन्दगी चल्छ
त्यसैले अब त केही सोच सरकार !
देश ऋणमा छ ।
तँलाई थाह छ्नी !
हाम्रा आमाहरू ,दिदिहरु
सबै , सबै नारिहरु कति बलवान छन् भनेर
त्यसैले नेपालको जिम्मा उनिहरुलाई छोडिदे
उनिहरुले लाखौं युवाहरूको जन्म दिनेछन्
अनि खाडी मुलुकहरूमा पैसा टिप्न पठाउला
उनिहरु धर्ती हुन र युवा उत्पदन गर्ने मेसिन पनि हुन् ।
त्यसैले अब त केही सोच सरकार !
देश ऋणमा छ ।
खाडिका रुखहरुमा पैसा टिप्दाटिप्दै
कसैले श्वास फेर्न बिर्सला त्यसको पनि ख्याल गर
एस्तैमा चीर निन्द्रामा पर्ला त्यसको पनि होस गर ।
श्वास फेर्न विर्सेकाहरुलाई चिसो होला ध्यान दे
अनि बनाइदे न्यानो काठको बाकस जस्तो खटिया
अनि पठाइदे नेपाल , धुनीको आगो ताप्नकै लागि
त्यसैले अब त केही सोच सरकार !
देश ऋणमा छ ।
विमानको आनन्द लिदै बाकसको न्यानो खटियामा
नेपाल फर्किनेहरु बाट सक्ने जति भन्सार उठा ,
छोरो भेट्न आमाहरू हतारिदै अंगालो मार्न खोज्लान
हर्षका आँसुहरु बगाउन खोज्लान त्यसमा कर लगा
त्यसैले अब त केही सोच सरकार !
देश ऋणमा छ ।
अर्बौको सम्पत्ती भएका विचरा गरिबहरुलाई दया गर
छोराछोरी लाई अमेरिकामा डेटिङ जाने पैसा पुगेन अरे
भिक्षा सम्झिएर थोरै भएपनी गरिबी भत्ताको व्यवस्था गर
उनिहरुको सम्पत्तिमा सक्नेजती कर छुट गर ,कि मिनाहा गर
दिनभरी मज्दुरी गरेर टन्न सम्पत्ती, रु ,तीन सय कमाउने
जो अमिरहरु छन् नि । उनिहरुको सम्पत्तिको छानवीन गर
त्यसैले अब त केही सोच सरकार !
देश ऋणमा छ ।
✍️ Kurmaraj

